केहि बर्ष पहिले बनेको फिल्म ‘झोले’को अघि मिस्टर थप्दै निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’ नाममा फिल्म निर्माण थालेका छन् । बिहिबार फिल्मको राजधानीको नक्साल भाटभटेनी मन्दिरमा शुभसाईत गरियो ।
निर्माता खड्काले यो फिल्मलाई सिक्वेलको रुपमा भने नबुझ्न आग्रह गरेका छन् । उनको ‘झोले’ प्रोजेक्टलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए भने यो पटक निर्देशनमा रामबाबु गुरुङ आएका छन् ।
त्यसो त यो फिल्ममा पनि लिड अभिनयमा दयाहाङ राई दोहोरिएका छन् भने खड्काको ‘झोले’मा लिडमा रहेकी प्रियंका कार्की अटेकी छैनन् । दयाहाङको अपोजिटमा ‘जात्रा’ गर्ल वर्षा राउत आएकी छिन् । अन्य कलाकारमा दिया पुनः, वुद्धि तामाङ, प्रविण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायत छन् ।
वैशाख ११ गतेबाट फिल्मको छायांकन कास्कीबाट सुरु हुनेछ । रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीले खिच्नेछन् । ग्रामिण परिवेशको कथा फिल्मले बोल्ने बताईएको छ ।