हरेक फ्राईडे दुई देखि तीन फिल्म प्रदर्शनमा आउने अनि एक अर्का बूड भिड्ने परिपाटी जारी रहँदा यो हप्ता भने नेपालमा कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् । अघिल्लो हप्ता प्रदर्शनमा आएका तीन फिल्म नै दोश्रो हप्तामा प्रवेश गरेका छन् । फिल्म हुन्, ‘लभ लभ लभ’, ‘राधे’ र ‘घामपानी’ ।
अघिल्लो हप्ता तीन फिल्म प्रतिस्पर्धामा रहँदा तीन वटै फिल्मले दोश्रो हप्ताको प्रदर्शन जारी राखे । आफ्नो पक्षमा दर्शक तान्न अहिलेसम्म क्रियाशिल रहँदा पहिलो हप्ता को अघि अनि को पछि चर्चा गर्न लायक विषय छ ।
दर्शक प्रतिक्रिया अनि समिक्षकको नजरमा फिल्म ‘लभ लभ लभ’ अघि देखियो । तर व्यापारिक रुपमा अन्य फिल्मले उछिने । स्वभावैले कम हल पाएको अनि स्टारकास्ट बीना मैदानमा आएको फिल्मको पहिलो हप्ताको विजनेसलाई औसत मानिएको छ । फिल्मले ६० लाखको आसपास विजनेस गरेको जानकारीमा छ ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डे लिड अभिनयमा छन् । शर्मिला पाण्डेले लगानी गरेकी हुन् । यो हप्ता नै शर्मिलाले ५ करोड लागतमा खनाललाई नै लिएर अर्को प्रोजेक्ट गर्ने घोषणा गरिसकेकी छिन् ।
यस्तै ‘घामापनी’ले पहिलो हप्ता ९० लाख आसपासको विजनेस गरेको खबर छ । दयाहाङ राई र केकी अधिकारी स्टारर फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । अन्तरजातिय प्रेमको कथा बोल्ने फिल्मले पनि दर्शकबाट सन्तोषजनक प्रतिक्रिया भेट्यो ।
उता एक्शन स्टारको उपमा पाएका निखिल उप्रेती अनि प्रियंका कार्की स्टारर फिल्मले भने पहिलो हप्ता करोड बढिको विजनेस गरेको छ । सिंगल स्कृनमा फिल्मको ओपनिङ दमदार देखियो । निर्माता सुशिल पोखरेल विजनेसबाट सन्तुष्ट छन् । दोश्रो हप्तामा यो फिल्म लगानी रिकभर गर्ने दौडमा हुनेछ । जगदिश्वर थापाले निर्देशन गरेका छन् ।