मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात अभिनेता विनोद खन्नाको बिहीबार निधन भएपछि एसएस राजमौलीको चर्चित फिल्म ‘बाहुबली– द कन्क्लूजन’को मुम्बईमा बिहीबार हुने भनिएको भव्य प्रिमियर शो रद्द गरिएको छ । निर्माता करण जोहारले बाहुबली टिमसँगै यो घोषणा गरेका हुन् ।
करण र बाहुबली २ का निर्देशक एसएस राजमौलीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै आफुहरुले प्रिय अभिनेता विनोद खन्नाको निधनमा शोक व्यक्त गरेको बताएका छन् । ‘फिल्म उद्योगका लागि यो दुःखद पल हो । सारा उद्योगका लागि यो ठूलो क्षति पनि हो । यो दुःखद माहौलमा हामी आफ्नो फिल्म बाहुबली २ को प्रिमियर गर्न सक्दैनौं । हामी आफ्नो पुरा टीमको तर्फबाट उनलाई श्रद्धाञ्जली दिन्छौं र उनको आत्माको शान्तिको काम गर्दै भगवानसँग प्रार्थना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
करणले ट्वीटरमा ट्वीट गर्दै विनोद जस्ता व्यक्तिको स्क्रिनमा उपस्थिति आजका दिनमा पनि अद्धितिय रहेको उल्लेख गरेका छन् ।