काठमाडौं । जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरुका लागि जापानमा सुर्य कर्पोरेसनले ‘साकुरा नाईट २ जापान’ नामक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारी गृष्म इन्टरटेनमेन्टसँग सहकार्य गर्दै सुर्यले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।
सुर्य कर्पोरेसनका ब्रान्ड एम्बेसडरसमेत रहेका सञ्चारकर्मी एवं कार्यक्रम प्रस्तोता नरेश भट्टराईले सञ्चालन गर्ने कार्यक्रममा लोकप्रिय गाएक प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री र गायिका नलिना चित्रकारको प्रस्तुति रहनेछ ।
कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोकियोबाट सुरु भई मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा हुनेछ । कार्यक्रमबाट हुने मुनाफा बाट गरिव, दिन दुखि र असहायको सहारा बन्दै आईरहेको नेपालको मानव सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बासुदेव लामिछानेले जानकारी दिए। कार्यक्रमलाई भब्य र सभ्य एवम मर्यादित बनाउनका निमित्त प्रत्येक शहरहरुमा तय गरिएको आयोजक टोलिले कार्यक्रमको व्यवस्थापन गर्नेछ ।
नेपालमा यस अघि भारतका गायक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । अघिल्लो वर्षको साकुरा नाईटमा गायक रामक्रृण्ण ढकाल, हिमाल सागर, गायिका मिलन अमात्य, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, डिजे राजुलगायतले मनोरञ्जन दिएका थिए ।