मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री मनिषा कोइरालाले फिल्म यात्रा र जीवनका बारेमा आधारित रहेर पुस्तक लेख्ने भएकी छन् । ओभरीयन क्यान्सरबाट मुक्त भएकी मनिषाले क्यान्सर पीडित अर्का एक लेखकसँग सहकार्य गर्दै पुस्तक लेख्न लागेकी हुन् । यो वर्षको अन्त्यमा प्रकाशनमा आइसक्ने पुस्तकका लागि उनी मल्टिनेशनल प्रकाशन संस्थाको खोजीमा छिन् ।
‘आम मानिसलाई कसरी समग्र जीवन बिताउने भन्ने विषयमा चेतना जगाउन चाहन्छु, म यसै विषयमा अध्ययन, अनुसन्धान गरिरहेको छु,’मनिषाले भनेकी छन्,‘यो पुस्तक आत्मसंस्मरण हुने छैन, मेरो जीवन र फिल्मको प्रतिबिम्ब हुनेछ । जुन बेला म अस्वस्थ्य थिएँ, त्यो बेला नै मैले यो विषयमा धेरै नोट बनाएको थिएँ ।’
मनिषा हाल सञ्जय दत्तको बायोग्राफीमा बनिरहेको फिल्ममा रणवीर कपुरको आमाको भूमिकामा अभिनय गरिरहेकी छन् । मनिषाले आफुले मदिरा र मासुजन्य खानेकुरा खान छोडेर आयुर्वेद र प्राकृतिक आयुर्वेदको प्रयोग गरिरहेको उल्लेख गरेकी छन् । उनले आफ्नो पुस्तकले मानिसलाई अध्यारो जीवनबाट उज्यालोतिर ल्याउने दाबी गरेकी छन् ।