काठमाडौं । फिल्म ‘चपली हाइट २’बाट नायिकाका रुपमा डेब्यु गरेकी परमिता राणाको परिचयमा नयाँपन थपिएको छ । हालसम्म नायिका र मोडलका रुपमा चिनिएकी उनी अब गायिका बनेकी छन् । उनको दुई सोलो एल्बम रिलिज हुँदैछन् । सप्ताहन्तमा उनले आफ्ना गीतमा कन्सर्ट प्रस्तुत गरिन् । आगामी अगस्टमा उनीद्वारा स्वरबद्ध ‘रोयल’ र ‘योङ किङ’ एल्बम एकसाथ रिलिज हुँदैछन् । नौ गीत समावेश हुने एल्बममा चार गीत रेकर्ड भैसकेका छन् ।
रेकर्ड भएका ती चार गीतलाई त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा परमिताले गाएर सुनाइन् । सेलेब्स, मिडिया र फ्यानमाझ उनले गायकी पस्किइन् । उनलाई गाउन दुई ¥यापर नास्टी र भिजनले सघाए । नास्टीसँग मिलेर परमिताले गीत पनि लेखेकी छन् ।
उनी आफ्नो बेग्लै जानरा सिर्जना गर्न चाहन्छिन् जसलाई इडीएम नाम दिइएको छ । इलेक्ट्रोनिक र फ्युजन मिश्रण गरेर इडीएम जानराको विकास गर्ने राणाको कम्पनी टेक म्यानेजमेन्ट सर्भिसकी सीइओ विपश्यना श्रेष्ठले बताइन् । लाइट् इफेक्ट्स र पार्टी चराहरुसँगै परमिताले लेटनाइट कन्सर्ट प्रस्तुत गरिन् ।
यसैबीच यी नायिका फिल्म समेत लेख्दैछिन् । उनको फिल्मलाई अर्जुन कुमारले निर्माण गर्ने वचन दिएका छन् । ‘म आफ्नै ढंगमा स्क्रिप्ट लेखिरहेकी छु’ उनले भनिन्, ‘अरु काम सँगै स्क्रिप्टमा समेत व्यस्त छु ।’