फिल्म ‘फाटेको जुत्ता’को यतिबेला धमाधम छायांकन भइरहेको छ । मध्य नेपालको तातो शहर बिरगंजको ४२ डिग्री तापक्रममा यतिबेला फिल्म युनिट छायांकनमा व्यस्त छ । यो बीचमा फिल्मको लागी आईतबार एउटा यस्तो ऐतिहासिक दृश्य खिचियो, जहाँ ७ सय बढि ‘क्राउड’ प्रस्तुत भए ।
छायांकन स्थलबाट निर्माता अर्जुनकुमारले फिल्म भित्र समावेश हुने ‘गाउँमा रामलिलाको नाटक’ देखाईएको एक दृश्य हेर्न कलाकार पुगेको दृश्यमा उक्त क्राउड जोडिएको बताए । जहाँ लिड अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की फिचर छन् ।
यो सँगै फिल्मको पहिलो दृश्य समेत बाहिर आएको छ । फर्स्टलुकमा सौगात र प्रियंका फिचरिङमा छन् । जहाँ सौगातलाई मधेशी लुक्समा देखिएका छन् भने प्रियंका टिपिकल नेपाली अबतारमा प्रस्तुत छिन् ।
निकेश खड्काले निर्देशन गरिरहेको फिल्मको हालसम्म ५५ प्रतिशल छायांकन सकिएको र अबको १८ दिनमा सबै छायांकन सकिने निर्माता अर्जुनकुमारले बताए । फिल्मलाई कार्तिकमा रिलिज गर्ने निर्माण टिमले यसअघि नै घोषणा गरिसकेको छ ।