सोमबार साँझ काठमाडौंको मध्यबानेश्वरमा खुकुरी प्रहारमा परि गम्भिर घाईते भएका निर्देशक एवं निर्माता रोज राणा अहिले खतरा मुक्त छन् । हाल काठमाडौंको ग्राण्डी हस्पिटलमा भर्ना भएका रोजलाई खुकुरी प्रहार गर्ने दुई जनालाई भने महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । भक्तपुर सिद्धपोखरी घर भर्इ नयाँबजार बस्ने मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरिएको डिएसपी रमेश थापाले जानकारी दिए। ‘जोधा’ भन्ने गुण्डानाइके रत्न बहादुर लामाले राणामाथि आक्रमणको योजना बनाएका थिए । उनले आफ्नो समूहका विवेचन प्रजापतिलाई ३ महिना अगाडी भारतको सिलगुडीमा बोलाएर आक्रमणको योजना बनाएका थिए । उनले तत्काल पेश्की स्वरुप विवेचनलाई ५० हजार भारू समेत दिएको खुलेको छ । करिव तीन हप्ता पहिला भारतबाट जोधा नेपाल आएर विवेचनको घरमा बसेका थिए ।
विवेचन प्रजापति र सूर्य लामा
सोही बखत जोधाले रोज राणालाई आक्रमण गरी अङ्ग-भङ्ग तुल्याउन विवेचनलाई थप ३० हजार दिएको र काम सम्पन्न भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवेचनले ३१ गते विहान सूर्य लामालाई मोटरसाईकल चलाउन लगाई घरमा रहेको खुकुरी झोलामा हाली सूर्य लामा र विवेचन सोही दिन बागबजार, दरबारमार्ग, नक्साल हुदै रोज राणाको पिछा गरेका थिए तर आक्रमण गर्न नसकेपछि अन्तिममा साँझ करिव ६:४५ बजे मध्यबानेश्वरको सेन्टर क्याफे अगाडी विवचनले एक्कासी रोजमाथि खुकुरीले प्रहार गरेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । आक्रमणमा संलग्न मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामा साउन ३२ गते नयाँ बजारबाट पक्राउ परेका छन् भने मुख्य योजनाकार ‘जोधा’ भने फरार रहेका छन् । रोजले निर्देशन र निर्माण गरेको नयाँ चलचित्र ‘जय परशुराम’ अहिले देशव्यापी प्रदर्शन भइरहेको छ ।