काठमाडौं । इजरायली राजदूतावास काठमाडौं र नेपाल फिल्म सोसाइटीको संयुक्त आयोजनामा काठमाडौं, पोखरा र विराटनगरमा ११ औं ‘इजरायली फिल्म महोत्सव’को आयोजना हुने भएको छ । दुतावासका अनुसार काठमाडौंमा जून २१ देखि २३ सम्म, पोखरामा जून २८ देखि ३० तथा विराटनगरमा जूलाई ६–८ मा हुन गइरहेको यो महोत्सवलाई नेपाल पर्यटन बोर्ड, ओरटुके रेष्टुराँ पोखरा तथा विराटनगर उद्योग संगठन मोरङले साथ दिएको छ ।
इजरायली सरकारले सन् २०१७–१८ लाई स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको छ । यसैअन्तर्गत यो वर्ष जेरूसलेम शहरको पुनःएकीकरण भएको ५० वर्ष पूरा भएको खुशियाली पनि मनाइदैंछ । यस महोत्सवले पनि जेरूसलेम शहरलाई सम्मान गर्ने हेतुले सो शहरसँग गासिएका कथाहरूलाई दर्शक माझ ल्याउँदै छ भने यी फिल्महरूले इजरायली संस्कृति, यहूदि परम्परा तथा समाजको चित्रण गरेको छ । साथै प्रत्येक फिल्म प्रदर्शनी गर्नु अघि जेरूसलेमबारे एउटा वृत्तचित्र पनि देखाइने छ ।
महोत्सवमा जोसेफ साइडरको ‘टाइम अफ फेबर’, जोनाथन गेभाको ‘एबुलेले’, इतामार चेनको ‘टिचर इरेना’, मेनी येशको ‘आवर फादर’, माती हारिरी र एरिक लुबेत्ज्कीको ‘एप्पल्स फ्रम द डिजर्ट’ र युभल इल्डरको ‘बेथ्लेहेम’ प्रदर्शन गरिनेछन् । दुतावासले महोत्सवले विदेशी फिल्ममा रुचि राख्ने व्यक्तिलाई इजरायली फिल्म हेर्ने र इजरायली रंगीन समाज र यहूदी परम्पराहरु बुभ्mने अवसर प्रदान गर्ने दाबी गरेको छ ।