नायिका जेनिशा केसीले एक दर्जन बढी चलचित्रमा काम गरेकी छिन् । केही चलचित्रले सफलता हासिल गरेपनि उनका अधिकांश चलचित्रहरु असफलताको सूचीमा छन् । आफुले गरेको कामबाट तारिफ पाएपनि चलचित्र असफल हुँदा अहिले जेनिशा फुर्सदिलो छिन् ।खबरका अनुसार अहिले उनको हातमा कुनै पनि नेपाली चलचित्र छैनन् । गएको महिना जेनिशाले अभिनय गरेको ‘एक पल’ नामक चलचित्र प्रदर्शनमा आएको थियो तर दर्शकहरुले हलसम्म चलचित्र चलेको नै थाहा पाएनन् । लगातार आफुले अभिनय गरेको चलचित्र असफल भएपछि अहिले जेनिशाको फिल्मी यात्रा पनि ओरालो लाग्दै गरेको छ । वुधबार काठमाडौंको कोटेश्वरमा ‘डारगो क्याफे’ उद्घाटन कार्यक्रममा देखिएकी जेनिशाले ‘सिनेखबर डटकम’ सँगको कुराकानीमा आफ्नो जोडी विराज भट्टसँग सुहाउने बताइन । उनले भनिन्, ‘चलचित्र ‘दोस्ती’ हेरेपछि मलाई सबैले तिम्रो जोडी विराज भट्टसँग सुहाउँछ भन्नुहुन्थ्यो । म अलि अग्ली भएका कारण सायद विराज दाईँसँग पर्दामा मेरो जोडी सुहाउँछ जस्तो लाग्छ ।’ अब चाँडै भारतीय टिभी सिरियलमा काम गर्ने सोच बनाएकी जेनिशाले नेपाली चलचित्रमा काम गरेपनि कथावस्तु र उत्कृष्ट ब्यानर हेरेर मात्र काम गर्ने बताएकी छिन् ।