
काठमाडौं । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को फस्ट लुक सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गरेको हो।
पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई गम्भीर भावमा देख्न सकिन्छ। जहाँ सुहानाको सिउँदोमा सिन्दुर, अनि निधारमा टीका लगाएकी छन्। प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। यि तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्। त्यसै गरि फिल्मको भि।एफ।एक्स। समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरि ५।१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्। निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन्।
यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।






