मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फिल्म ‘वान्टेड’मा उनको एउटा चर्चित संवाद ‘एक बार जो मैंने कमिटमेंट कर दिया, फिर मैं अपने आप की भी नहीं सुनता’ आम दर्शकमाझ प्रिय छ । यिनै सलमानले वास्तविक जीवनमै एउटा महत्वपूर्ण प्रतिबद्धता पुरा गरेका छन् । गत महिला रिलिज फिल्म ‘ट्यूबलाइट’ बक्स अफिसमा असफल बन्यो । जसको असर फिल्मको वितरकले व्यहोरे । उनीहरुले करोडौं रुपैंयाँ नोक्सान झेल्नुपर्यो ।
यो कुरा थाहा पाएका सलमान र उनका पिता सलिमले वितरकले व्यहोरेको नोक्सानको पैसा फिर्ता गरिदिने प्रतिबद्धता जनाएका थिए । जस अनुसार घाटा भएको रकममध्येको ५० प्रतिशत रकम सलमानले फिर्ता गरिदिएका छन् ।
वितरक समूहका प्रमुख नरेन्द्र हिरावतले १ सय ३० करोडमा सलमानको फिल्म किनेका थिए । वितरकले झण्डै ७० करोड रुपैंयाँ घाटा व्यहोरेका थिए । हालै मात्र सलमानसँग भेटेका नरेन्द्रले सलमानकै हातबाट पैसा पाएका हुन् । जस अनुसार सलमानले ३५ करोड रुपैंयाँ वितरकलाई दिएका छन् ।
सलमान बस्ने ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो महिना भएको बैठकमा सलमानका पिता सलिमले वितरकसँग आफ्नो छोराको फिल्मले वितरक घाटामा गएको कुरा प्रति दुःख व्यक्त गरेका थिए ।