यो हप्ताको शुक्रबारबाट मल्टिस्टारर फिल्म ‘संरक्षण’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ। पुर्णेन्द्र झा निर्देशित फिल्मले मधेशको मुद्दालाई उठान गरेको छ। फिल्मले राजनीति, क्राइम, पुलिस प्रशासन, पत्रकारिता जस्ता कुराहरुलाई जोड दिइएको छ। फिल्मलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।
फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ। फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ।
फिल्मको बुधबार चितवनमा रेड कार्पेट प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्मले खुबै तारिफ पनि पाएको थियो।
आजबाट नेपाली फिल्म ‘संरक्षण’ मात्र प्रदर्शनमा आएको हो। अन्य कुनै नेपाली फिल्म प्रदर्शनमा नआउदा फिल्मलाई यसै फाइदा पुग्ने देखिन्छ। सिंगल थिएटरका किङ मानिने निखिलले सिंगल थिएटरका दर्शक तान्ने र मल्टिप्लेक्समा राम्रो क्रेज भएका सौगातले मल्टिप्लेक्समा दर्शक तान्ने भएकाले पनि फिल्मको व्यापार उच्च हुने देखिन्छ।
तर, आजैबाट बलिउड स्टार अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट : एक प्रेम कथा’ पनि प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स हलहरुमा उक्त फिल्मले पनि राम्रै प्रभुत्व जमाउन सक्ने अनुमान लगाउन सकिन्छ। अब हेरुम ‘संरक्षण’ र ‘ट्वाइलेट : एक प्रेम कथा’ मध्ये कुन फिल्मलाई चाही दर्शकले साथ रहला त? त्यो भने आज र भोलि फिल्मले गरेको व्यापारबाट प्रस्ट हुनेछ।