अभिनेत्री श्वेता खड्का ‘कोहिनुर’पछि ‘कान्छी’ मार्फत पर्दामा पुनरागमन गर्ने भएकी छिन् । केहि समय पहिलेदेखि निर्माणको चर्चा चलेको फिल्मको सोमबार औपचारिक घोषणा गरियो । कृष्ण जन्माष्टमीको अबसरमा फिल्मको निर्माण घोषणा गरिएको हो ।
दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा कृष्ण जन्माष्टमी कै दिन श्वेताले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्ममा उनिसँगै दयाहाङ राई लिड रोलमा रहनेछन् । ‘कोहिनुर’ निर्देशक आकाश अधिकारीले नै यो फिल्मलाई निर्देशन गर्नेछन् । अधिकारीले फिल्म निर्माणमा पनि श्वेतासँग साझेदारी गरेका छन् ।
कार्यक्रममा बोल्दै श्वेताले सामाजिक प्रेमकथामा फिल्म बनाउन लागिएको बताईन । अभिनयसँगै निर्माणमा पनि जोडिँदा केहि गाह्रो लाग्ने देखेतापनि सबैको साथ र सहयोगले जिम्मेबारीलाई राम्रोसँग निभाउने बताईन् । श्रीकृष्णलाई ‘मिस’ गरिरहेको बताउँदै श्वेताले साउनको सोमबार अनि कृष्ण जन्माष्टमीको दिन पर्दैगर्दा श्रीकृष्णको आशिर्वाद लिएर नै नयाँ काम सुरु गरेको बताईन् ।
भदौ १ गतेबाट फ्लोरमा जाने फिल्मलाई पश्चिम नेपालमा खिचिने बताईएको छ । प्रज्वल सुजल गिरी, नीर शाह, अनु शाह, आशान्त शर्मा, भुमिका श्रेष्ठ लगायत समेत लिड अभिनयमा रहने फिल्मको रिलिज मिति पनि तय गरिसकिएको छ, फिल्म ‘कान्छी’लाई यहि बर्षको माघ २६ बाट प्रदर्शनमा ल्याउने निर्माण पक्षले बताएको छ ।