प्रत्येक बर्ष हुने गाईजात्रा नेपाली हास्यकलाकारहरुका लागि दशै सरह हो । देशमा बर्षभरी हुने विभिन्न कुराहरुलाई गाईजात्रामा व्यांग्यात्मक शैलीमा दर्शक समक्ष प्रस्तुत गर्नु हास्यकलाकारहरुको प्रमुख उद्येश्य हो । यस पटक पनि ‘तिते–जिरे गाईजात्रा महोत्सव’ नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबारदेखी सुरु भएको छ । प्राय सधै गाईजात्रामा राजनीतिक व्यक्तिहरुलाई व्यांग्य गर्ने हास्यकलाकारहरु यो पटक भने नेतालाई भन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई व्यङ्ग्य गरेका छन् ।
अहिले ‘तिते–जिरे गाईजात्रा महोत्सव’मा कलाकार मनोज गजुरेलले ‘ओखतियार अनुसन्धान प्रालि’ मार्फत लोकमानसिंह कार्कीको नक्कल गरिरहेका छन् । प्रहसनमा केही समयअघि कार्कीलाई संसद्को सुशासन समितिले सुनुवाइका लागि बोलाउँदा नआएको कुरालाई उठाइएको छ । त्यस्तै प्रहसनमा ‘तितो सत्य’ समूहले ‘अस्पताल’ मा कार्कीलाई महाभियोग लगाएर हटाउनुपर्छ भन्दै अनशन बसेका प्रा डा.गोविन्द केसीलाई देखाइएको छ, जसको अभिनय रमेश अधिकारीले गरेका छन्।
सोही प्रहसनमा नक्कली डाक्टरको प्रशङ्ग पनि उठाइएको छ । दीपकराज गिरीको नेतृत्वमा रहेको ‘तितो सत्य’ समूहले राजनीतिक घोचपेच पनि राम्रै गरेको छ । यो प्रहसनमा दीपाश्री निरौला, रवि डङ्गोल, पूर्ण थापा, कुमार गजुरेल, आरपी भट्टराई आदि कलाकारको समेत अभिनय छ। त्यस्तै ‘जिरे खुर्सानी’ र ‘हाकाहाकी समूहको प्रहशनमा ‘मापसे’मा रक्सी खानेलाई जस्तै घुस खानेलाई पनि कारबाही गर्न अनुरोध गरिएको छ भने ‘ब्रेकफेल’ र ‘हाकाहाकी’ समूहको अर्को प्रस्तुतिमा ‘म्यारिज ब्यूरो’मा चीन र भारत दुई छिमेकी देशसँगको प्रशङ्ग देखाइएको छ । महोत्सव यही भदौ १८ गतेसम्म चल्नेछ । –राससको सहयोगमा ।