केहि समय पहिला नै निर्माण घोषणा गरिएको फिल्म ‘ब्रेकअप’का लागि नायिकाको फाइनल भएको छ। रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्मको लागि नायक आशिरमान देशराज जोशी पहिले नै फाइनल भैसकेका थिए। आशिरमानले यस फिल्मको लागि १५ लाख पारिश्रमिक लिएको चर्चा पनि खुबै चल्यो। आशिरमानले अभिनय गरेको पहिलो फिल्म ‘ग्याङस्टर ब्लुज’ प्रदर्शनरत छ। पहिलो फिल्म रिलिज पुर्व नै निकै चर्चित बनेका आशिरमानलाई एक सम्भावना बोकेको नायकको रुपमा हेरिएको छ।
हेमराज बिसीले निर्देशन गर्न लागेको फिल्म ‘ब्रेकअप’का लागि निर्माण घोषणा देखि नै नायिकाको खोजि भइरहेको थियो। अब भने फिल्मको लागी नायिका फाइनल भएकी छिन्। फिल्ममा आशिरमानको जोडीको रुपमा नव–नायिका शिल्पा मास्के फाइनल भएकी हुन्। शिल्पासंग फिल्ममा काम गर्नेबारे संझौता भैसकेको निर्माता अधिकारीले जानकारी दिए। शिल्पाले एक हलिउड चलचित्रमा समेत काम गरेकी छिन्। फिल्म ‘गाजलु’ निर्माण गरेर नेपाली फिल्म क्षेत्रमा सफल निर्माताको रुपमा स्थान बनाइसकेका रोहितको दोश्रो चलचित्र ‘ब्रेकअप’ निर्माण अगाडी नै चर्चामा छ।निर्माता अधिकारी भन्छन् ‘‘गाजलु’ पछि दर्शकले हामीबाट निकै राम्रो फिल्मको अपेक्षा गर्नुभएको छ। ‘ब्रेकअप’ निर्माणमा कुनै कमजोरी हुन दिदैनौ।’ फिल्मलाई इ नेपालका रमणिय स्थानसहित लण्डनमा छायांकन गरिने निर्माणपक्षले बताएको छ। ‘रोहित अधिकारी फिल्मस्’ र ‘ह्याप्पी प्लानेट फिल्मस्’को प्रस्तुतीमा बन्न लागेको फिल्ममा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ। फिल्मको छायांकन भदौको अन्तिमबाट गरिने बताइएको छ। लभ स्टोरी कथामा निर्माण हुन लागेको यो चलचित्रलाइ यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ।