
हेटौंडा । लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौंडाबाट भव्यतापूर्वक अघि बढाएको छ । यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुञ्जिँदा हजारौंको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए ।
केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दैआएको गीतक्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’ बाट कन्सर्टको थालनी गरिएको थियो । अघिल्ला प्रस्तुतिहरुमा मध्यक्रममा रहने गरेको यो गीतले सुरुदेखि नै मैदानलाई गतिशील तुल्याएको देखिन्थ्यो । त्यसपछि ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ हुँदै कन्सर्ट अघि बढेको थियो ।
कार्यक्रमस्थलमा दर्शकहरुको अग्रपंक्तिमै रहेकी मान्यता सापकोटा यस्तो सांगीतिक कार्यक्रमले सहरै रमाइलो पार्ने बताइरहेकी थिइन् । उनका अनुसार नेपथ्यको कन्सर्ट चाहिँ छुटाउने गरेकी छैनन् ।
‘चार वर्षअघि हेटौंडामा नेपथ्य उपस्थित हुँदा म बुवाको साथ आएकी थिएँ,’ स्थानीय कृष्णमन्दिर छेवैमा घर भएकी स्नातक प्रथम वर्षकी विद्यार्थी मान्यताले भनिन्, ‘त्यतिबेला ढिलो आएकोले धेरै गीत छुटेकै कारण यसपाला समयमै मैदानमा प्रवेश गरेँ र अगाडिकै लहरमा ठाउँ पाएँ ।’
साथी श्रीना ढुंगेल र बहिनीहरुलाई पनि साथमा लिएर आएकी मान्यता कन्सर्टमा सुरुदेखि अन्तिमसम्मै नृत्यरत देखिन्थिन् ।
यसरी नाच्नेहरुको लहर बढ्दै गएर मैदानको अन्तिम घेरामा बर्दीसहित खटिएका प्रहरीहरुमा समेत विस्तार भइरहेको देखिन्थ्यो । तिनैमध्ये महिला प्रहरीहरुको टोलीलाई कमाण्ड गरिरहेकी लालुमाया गुरुङ पनि थिइन् ।
यता कार्यक्रमले ‘लामपाते सुरती’ पछि पनि पुरानै गीतहरु ‘चरी म¥यो’ र ‘जोमसोमे बजारमा’बाट निरन्तरता पाइरहेको थियो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो ।
कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको परिचय गराएका थिए ।







