शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले आक्रामक व्यापार गरिरहेको छ। करिव ९० वटा हलबाट प्रदर्शन आरम्भ गरेको फिल्मले शुक्रबार कुल ७८ लाखको व्यापार गर्न सफल भएको थियो भने आज शनिवारको दिन फिल्मको व्यापार निकै उच्च देखिन्छ। राजधानीसँगै राजधानी बाहिरका हलहरु पनि हाउसफुल छन्। सिंगल थिएटरसँगै मल्टिप्लेक्समा समेत दर्शकको उत्साहजनक छ।
आज शनिवार सार्वजनिक विदा भएका कारण पनि सिंगल र मल्टिप्लेक्समा विहानैदेखि दर्शकको थामिनसक्नुको भिड देखिएको छ। काठमाडौंका मल्टिप्लेक्समा शुक्रवार साँझ नै शनिवारका लागि सबै शोको टिकट सोल्ड आउट भैसकेको थियो। यस्तै, गोपीकृष्ण मुभीजका ७ पर्दा मध्ये विहानी शोमा ४ पर्दा र दिउसोको २ शोमा ५-५ पर्दामा दर्शक भरिएका थिए। अष्टनारायण हलमा पनि दर्शकको उत्साहजनक साथ मिलेको छ। बिहानी शोमा अष्टनारायणको ४ वटा पर्दामा लागेको ‘ए मेरो हजुर २’ त्यस पश्चातको शो हरुमा सबै पर्दा कब्जा गरेको छ। गुण, गंगा, कलंकीमा पनि ‘ए मेरो हजुर २’ हेर्ने दर्शकको उपस्थिती थामिनसक्नु छ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्ममा हरिहर अधिकारीको कथा रहेको छ भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। संजय लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ।
झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बँनिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतको अभिनय छ।