गएको बिहिबार एकसाथ प्रदर्शनमा आएको दुई प्रतिक्षित चलचित्र ‘चपली हाईट २’ र ‘वीर विक्रम’ ले अहिले मल्टिप्लेक्स र सिंगल हलहरुमा सुखद व्यापार गरिरहेको छ । ‘सिनेखबर डटकम’ लाई प्राप्त खबर अनुसार ‘वीर विक्रम’ ले सिंगल हलहरुमा आक्रामक व्यापार गरिरहेको छ भने मल्टिप्लेक्समा ‘वीर विक्रम’ भन्दा ‘चपली हाईट २’ को व्यापार केही माथि छ । चलचित्र ‘वीर विक्रम’ का निर्देशक एवं निर्माता मिलन चाम्सको दाबीलाई आधार मान्ने हो भने चलचित्रले तिन दिनमा करोड माथिको विजनेश गरिसकेको छ । त्यस्तै ‘चपली हाईट २’ का निर्माता अर्जुन कुमारका अनुसार चलचित्र ‘चपली हाईट २’ पनि करोड क्लबमा प्रवेश गरिसकेको छ ।
मल्टिप्लेक्समा आक्रामक देखिएको ‘चपली हाईट २’ मा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोख्रेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्र चपली हाईट २ ले सिंगल हलहरुमा पनि सुखद व्यापार गरिरहेको वितरक कम्पनीले दाबी गरेको छ । त्यस्तै ‘वीर विक्रम’ ले पनि मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको वितरकले बताएका छन् । चलचित्रका वितरक गोविन्द शाही र गोपाल कायस्थले चलचित्र ‘वीर विक्रम’ को व्यापारलाई लिएर सन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार र शनिबार आक्रामक देखिएको ‘वीर विक्रम’ मा दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।