मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ एकपटक पुन ५ वर्ष पछि दर्शकलाई आफ्नो एक्सन रोमान्स ड्रामा दिन सँगै आउँदैछन् । उनीहरु यतिबेला फिल्म ‘टाइगर जिन्दा है’को सुटिङमा अबुधाबीमा व्यस्त छन् ।
फिल्मको क्लाइमेक्स खिच्नका लागि यतिबेला फिल्म युनिटले कुनै कसुर बाँकी राखेको छैन । फिल्मका निर्देशक अली अब्बास जफरले फिल्मको फाइटका केही दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दर्शकको कौतुहलता मेटिरहेका छन् ।
तस्वीरमा सलमान खानलाई क्लाइमेक्स सुटिङमा कडा मेहनत गरिरहेको प्रष्ट देख्न सकिन्छ । तस्वीरमा सलमानलाई हातमा बन्दुक बोकेर उडिरहेको कारमा एक्सन दृश्य दिइरहेको देखिन्छ ।
यो फिल्ममा दर्शकलाई नै मात खुवाउने किसिमका एक्सन दृश्य समेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्ममा कटरिना पनि एक्सन दृश्यमा देखिनेछिन् । यो फिल्मका लागि कटरिना र अंगद बेदीले सँगै बन्दुक र राइफल चलाउने तालिम लिएका थिए । फिल्म २२ डिसेम्बरमा हलमा रिलिज हुनेछ ।