आज शुक्रबार। हरेक शुक्रबारबाट कुनै न कुनै नयाँ फिल्मले आफ्नो प्रदर्शन आरम्भ गर्दछन्। आजबाट पनि दुई फिल्मले एकसाथ आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। लभस्टोरी तथा एक्सन जनरामा निर्माण भएको ‘जोनी जेन्टलम्यान’ र थ्रिलर सस्पेन्स फिल्म ‘लिला’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन्।
थुप्रै म्युजिक भिडियो तथा सर्ट फिल्म निर्देशन गरेका नितिन चन्दले निर्देशन गरेको ‘जोनी जेन्टलम्यान’लाई एन्ड्रियु पौडेल र अजय मल्ल ठकुरीले निर्माण गरेका हुन्। फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ। पल र आँचलले फिल्म ‘नाई नभन्नु ल ४’मा संगै काम गरेका थिए। त्यो उनीहरु दुबैको डेब्यु फिल्म थियो। पलले त्यस पछि फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गरे। फिल्म सफल भयो। त्यस पश्चात उनको फ्यान फलोअर्सको संख्यामा पनि राम्रै वृद्धि भयो। युवा पुस्ताको रोजाईमा परेका पल र आँचलको मुख्य भूमिका रहेकाले पनि फिल्म प्रतिक्षित बनिरहेको छ।
फिल्ममा रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन रहेको छ।
त्यस्तै नायिका संचिता लुइटेल र राज कटुवालको मुख्य भूमिका रहेको फिल्म ‘लिला’ पनि आज बाट प्रदर्शनमा आएको छ। ‘सिने दर्पण इन्टरटेमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। सिपी पौडेल कार्यकारी निर्माता रहेको यस फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरेको पनि लगानी रहेको छ। वसन्त सापकोटा र रमेश खड्काको संगीत रहेको फिल्ममा शिव ढकालको छायाँकन, सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य रहेको छ।
फिल्ममा संचिता र राजका अलवा मलिना जोशी, धुर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय छ।