गएको बर्ष पशुपतिप्रसाद चलचित्र निर्देशन गरेर चौतर्फी तारिफ बटुलेका निर्देशक दिपेन्द्र के. खनालले पहिलो पटक पूर्णतया प्रेमकथामा आधारित भएर चलचित्र ‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बिच निर्देशक दिपेन्द्र के. खनालले चलचित्रको पोष्टर र कलाकारहरुको परिचय गराएका थिए । चलचित्रको मुख्य कलाकारमा स्वस्तिका खड्का (बस्नेत) र सुरज पाण्डेको मुख्य भुमिका रहनेछ । स्वस्तिका र सुरजको साथै चलचित्रमा देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्र निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक खनालले भने -‘मलाई पूर्णतया प्रेमकथामा आधारित भएर एउटा चलचित्र निर्देशन गर्न मन थियो, जुन आज पुरा हुँदैछ । चलचित्रमा हाम्रो सानो कुरामा ठूलो इमोसन खोज्ने प्रयास हुनेछ ।’ उनका अनुसार चलचित्रमा आफ्नो रियल लाइफमा भएको प्रेमकथाको केही अंश पनि रहनेछ । अमृत पोण्ड र शर्मिला पाण्डेको लगानीमा तयार हुने यो चलचित्रको सम्पुर्ण छायाँकन पोखरामा हुनेछ । निर्माणपक्षका अनुसार चलचित्रको छायाँकन भदौ ९ गतेबाट सुरु हुनेछ ।