काठमाडौं । पोष्ट प्रोडक्सनको झण्डै सात वर्ष पछि फिल्म ‘गुडबाई काठमाडौं’ कोरियाको बुसानमा प्रदर्शन हुने भएको छ । पछिल्लो समयमा नेपाली युवा जमातको बाहुल्यता बढ्दै गइरहँदा त्यहाँ हुन लागेको बुसान फिल्म फेस्टिबलमा यो फिल्म प्रदर्शनमा आउन लागेको हो । बुसानपछि मात्र फिल्म नेपाली हलमा प्रदर्शन हुनेछ ।
फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको हो । बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन् । ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाईल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्महरु सहभागी रहेका छन् । प्रतिस्पर्धामा विजेता बन्ने फिल्मले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ ।
एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित रहेको छ । फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ ।
बुसानमा आउँदो शुक्रबार फिल्मको वल्र्ड प्रिमियर हुँदैछ । निर्देशक नबिन सुब्बा बिहीबार फिल्मको वल्र्ड प्रिमियरका लागि कोरिया उड्दैछन् । उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।
‘बुसान बाहेक अन्य थुप्रै फेस्टिभलमा फिल्म पठाएका छौं । थुप्रै राम्रा फेस्टिभलले चासो देखाइरहेका छन् तर फाइनल भइसकेको छैन । व्यक्तिगत रुपमा भने बुसानमा फिल्मले कस्तो प्रतिक्रिया पाउँछ सोही अनुसार बाँकी फेस्टिभल र नेपाल प्रदर्शनको पनि रणनीति बनाउने छौं,’ सुब्बाले भने ।
फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।