संगीतकार बसन्त सापकोटाले शुक्रबार आयोजना भएको ‘पाँचौ इनास फिल्मी अवार्ड’मा आफूले संगीत भरेको हिट गीत ‘स्लोली स्लोली’ गाएर स्टेज रन्काए । यो गीतमा प्रल्हाद तिमिल्सिनाको स्वर छ । तर, स्टेजमा भने बसन्त आफैले यो गीत गाएर रन्काउने कोशिश गरे ।
बसन्तपछि गायक राजनराज सिवाकोटीले पनि ‘कुटुमा कुटु’ बोलको गीत गाएर सुनाएका थिए । रमाइलो कुरा त के छ भने, संगीतकार ताराप्रकाश लिम्बुले फिल्म ‘विर विक्रम’मा समावेश ‘हारे हारे’ बोलको गीतबाट उत्कृष्ट गायकको अवार्ड जिते ।
यसरि हेर्दा, अब संगीतकारहरु आफै गायक बन्न लागेको प्रष्ट देखिन्छ । राजनराज सिवाकोटी र कालिप्रसाद बाँस्कोटाले त आफ्ना गीतमा आफै स्वर दिने गरेका छन् । ताराप्रकाश लिम्बु पनि गायक बन्न नखोजेका होइनन् । चेतन सापकोटाले पनि आफै गीत गाउँछन् ।
अर्जुन पोखरेलले पनि गीत नगाएका होइनन् । बसन्तले अब आफू पनि पर्दा अगाडि आउन चाहेको बताएका छन् । उनका अनुसार, उनको स्वरमा समावेश केही गीत बजारमा आउने क्रममा छन् ।
आफै गीत गाउँदा स्वदेश र विदेशका स्टेज कार्यक्रममा अफर आउने भएकाले पनि संगीतकारहरु अब गायकलाई त्यो अवसर नदिने मुडमा देखिएका छन् । संगीतकारले तयार पारेका हिट गीत गाएरै गायकहरु विश्व घुम्दा संगीतकारहरु भने पर्दा पछाडि छन् । तर, गायकहरुले संगीतकारलाई कमाइको कुनै पनि क्रेडिट नदिएपछि संगीतकारहरु अगाडि आएका हुन् । यसरी, सबै संगीतकारले आफै गीत गाउन थालेपछि कतै गायकहरुलाई भने संकट त आउने होइन ?