अभिनेता रमेश उप्रेतीलाई अहिले उनी निर्मित फिल्म ‘ऐश्वर्य’को प्रचारका लागि भ्याइनभ्याई नै छ । आफ्नो डेब्यू कमब्याक फिल्म बताउँदै आएका रमेश अहिले फिल्मको टिमको साथमा मोफसल दौडमा लागेका छन् ।
रमेशको मोफसल दौड पोखराबाट सुरु भएको हो । पोखरा पुगेर उनले आफ्नो फिल्मको बारेमा मात्र बोलेनन्, अभिनेता अनमोल केसीको खुलेरै प्रशंसा गरे । उनले भने–‘एउटा फिल्म खेलेर मात्र कोही स्टार हुँदैन । अहिलेका एक मात्र स्टार अभिनेता अनमोल केसी हुन् । उनले जसरी, पैसाको पछि नलागेर छानेर फिल्ममा काम गरिरहेका छन्, यो साच्चै तारिफयोग्य छ ।’ उनले फिल्म ‘ऐश्वर्य’को कथावस्तु, मेकिङ नै उच्च भएको सुनाए ।
उप्रेतीले आफूले लामो समयको कलाकारिताबाट संगालेको अनुभवलाई पर्दामा उतारेको बताए । यहि फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्दै गरेकी अभिनेत्री दीपिका प्रसाइले आफूले फिल्ममा दर्शकले नोटिस हुनेगरि काम गरेको बताएकी थिइन् । आफ्नो करिअर कहाँसम्म पुग्छ भन्ने त भोली फिल्म रिलिज भएपछि थाहा हुने उनको भनाइ थियो ।
अभिनेता प्रशान्त ताम्राकारले २२ बर्ष यो क्षेत्रमा बिताउँदा पहिलो पटक आफ्नो कामको मुल्यांकन यो फिल्मबाट भएको बताए । फिल्ममा आफू भिलेन नभई मिसनमा हिडेको एक पात्रको भूमिकामा रहेको उनको भनाइ थियो । दिवाकर भट्टराइले निर्देशन गर्ने यो फिल्म कात्तिक ९ गतेबाट रिलिज हुँदैछ ।