नेपाली फिल्मको बजार मात्र विदेशमा पुगेको छैन, अहिले अवार्डको आयोजना पनि विदेशी बजारमा नै बढी हुन थालेका छन् । यही क्रममा, दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो पटक नेपाली फिल्मको अवार्ड हुने भएको छ ।
राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले अवार्डको बारेमा जानकारी दिएको छ । सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको हो । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया-एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा यो अवार्डको आयोजना गर्न लागेका हुन् । ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण जिम्मा भने संगिक्षा फिल्मस्ले लिएको छ ।
अवार्डमा सहभागी हुनका लागि सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली फिल्मले दर्ता फाराम भर्न सक्नेछन् । २० विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा फिल्म निर्देशक मिलन चाम्स, अभिनेत्री पूजा शर्मा, अभिनेता हसनराजा खान र गायक यूवराज चौलागाइले अवार्डको उद्घाटन गरे । कार्यक्रममा प्रमुख अतिथी पूर्व सांसद मोहन राइले अवार्डको प्रतिमाको अनावरण गरेका थिए ।
कार्यक्रममा आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली फिल्मको बजारलाइ अझ परिष्कृत गर्नका लागि अवार्ड आयोजना गर्न लागेको बताए । संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आयोजकले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाहा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका बरिष्ठ उपाध्यक्ष केशव भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले अवार्ड सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
अवार्ड प्रदान गर्न लागिएका २० विधाहरुमा चलचित्र, निर्देशक, नायक, नायिका, सह-अभिनेता, सह-अभिनेत्री, नव-अभिनेता, नव-अभिनेत्री, नव-निर्देशक, खलपात्र, हाँस्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक रहेका छन् । अवार्डको जुरी संयोजकको रुपमा भरत शाक्य रहेका छन् ।