नेपाली फिल्म क्षेत्रमा अभिनेत्री केकी अधिकारीले थुप्रै निर्देशकसँग फिल्म खेलिन् । केकीले खेलेका कुनै पनि फिल्म आजसम्म बक्स अफिसमा सफल छैनन् । कुनै फिल्मको प्रचारका लागि उनी दिनरात नभनी हिडिन् त कुनै फिल्मका निर्मातालाई प्रचारमा नहिडेर दुःख पनि दिइन् ।
जे जस्तो भएपनि केकी अधिकारी फिल्म क्षेत्रमा टिकिरेहकी नै छन् । तर, अब उनले फिल्म क्षेत्रमै रहनका लागि नयाँ विधामा हात हालेकी छिन् । फिल्म अभिनयमा असफल हुँदै गएपछि पहिला कलाकार अमेरिका पलायन हुन्थे । अहिले धेरै कलाकार निर्माता बनेर आफ्नै ब्यानरमा फिल्म बनाउन थालेका छन् । अब, केकी पनि यही भिडमा थपिएकी छिन् ।
केकीको निर्माणमा बन्न लागेको फिल्मको नाम ‘कोहलपुर एक्सप्रेस’ राखिएको छ । यो फिल्मको छायांकन कात्तिक १२ गतेबाट सुरु गर्ने बताइएको छ । फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । विशालमाथि केकीले पहिलो प्रोजेक्टमै यति ठूलो भरोसा गरेकी छिन् । फिल्ममा प्रियंका कार्की र ऋचा शर्मा कलाकारको रुपमा फाइनल भएका छन् ।