निर्देशक रोहित सेट्टीको फिल्मका दर्शकका आफ्नै प्रकारका हुन्छन् । समिक्षकले कहिल्यै रोहितको फिल्मलाई नरुचाएपनि दर्शकले भने सधै मन पराउँछन् । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘गोलमाल एगेन’को व्यापारले पनि यही कुरा दर्शाएको छ ।
अभिनेता आमिर खानको विशेष भूमिका रहेको फिल्म ‘सेक्रेट सुपरस्टार’सँग तिहारको अवसरमा भिडन्त गरेपनि अजय देवगण, तब्बु, परिणिती चोपडा, तुषार कपुर लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई खासै फरक परेन ।
यो फिल्मले शुक्रबार बक्स अफिसमा ३०.१२ करोडको व्यापार गरेको छ । यो बर्ष रिलिज भएका फिल्ममा सबैभन्दा बम्पर ओपनिङ यो फिल्मले गरेको छ । दोश्रोमा सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ र तेश्रोमा साहरुख खान अभिनित फिल्म ‘रइस’को नाममा बम्पर ओपनिङको रेकर्ड छ ।
यस्तै, आमिर खान निर्मित तथा अभिनित फिल्म ‘सिक्रेट सुपरस्टार’ले बिहिबार ४ करोड र शुक्रबार ९ करोड भन्दा बढी व्यापार गरेको छ ।