अभिनेत्री केकी अधिकारी अब निर्मात्री बनेकी छिन् । उनले निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को काठमाण्डौमा घोषणा गरिएको छ । फिल्मको छायांकन कात्तिक १३ गतेबाट सुरु हुँदैछ ।
नेपाली फिल्म क्षेत्रमा ‘स्वर’बाट डेब्यू गरेकी अभिनेत्रीले दर्जन बढी फिल्ममा अभिनय गरिन् । तर, उनले अभिनय गरेका कुनै पनि फिल्म आजसम्म हिट हुन सकेका छैनन् । फिल्म क्षेत्रमा करिअर ओरालो लागेपछि केकीले निर्माणमा हात हालेकी छिन् । अहिले धेरै अभिनेत्रीहरु निर्मात्री बन्न थालेका छन् ।
यो फिल्मलाई म्यूजिक भिडियो निर्देशक बिशाल भण्डारीले निर्देशन गर्दैछन् । फिल्ममा केकीले आफूसँगै अभिनेत्रीद्धय प्रियंका कार्की र ऋचा शर्मालाई अभिनेत्रीको रुपमा लिएकी छिन् । फिल्मको घोषणा कार्यक्रममा प्रियंका र केकीको बोन्डिङ देखिएको थियो ।
फिल्ममा विनोद न्यौपाने, रामेश्वर झा लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । पत्रकार सम्मेलनमा केकीले भनिन्–‘यो मेरो ड्रिम्स प्रोजेक्ट हो । सानैबाट मलाई फिल्म निर्माण गर्न मन थियो । अहिले यो सपना पुरा भएको छ । फिल्मलाई दर्शकले मन पराउने कथामा निर्माण गर्न लागेकी छु । यसले ३ यूवतीको कथालाई रोचक तरिकाले देखाउनेछ ।’