अभिनेता पल शाह अहिले फिल्म सफलता भन्दा पनि पारिश्रमिकका कारण चर्चामा छन् । फिल्म ‘सत्रु गते’को छायांकनमा जोडिएका पलले एउटा फिल्ममा १८ लाख मागेर फिल्म छाडेपछि त्यसले मिडिया तताइरहेको छ ।
एलिजा गौतमको निर्माण र मुख्य भूमिका रहने फिल्म ‘अनुराग’का लागि पलले १८ लाख मागेको चर्चा केही समय अगाडि चल्यो । पछि, उनले यो फिल्ममा काम नगर्ने चर्चा पनि आयो ।
आखिर, मागेजति पैसा पाउँदा पनि पलले किन छाडे त यो प्रोजेक्ट ? पलले आफूलाई यो फिल्मको टिम नै मन नपरेको स्पष्टिकरण दिएका छन् । उनका अनुसार, उनलाई फिल्मको कथा जुन शैलीमा छ त्यो अनुसार फिल्म नै बन्छ भन्ने विश्वास लागेन । यसैले, आफूले फिल्म छाडेको पलले मिडियासँग बताएका छन् ।
पलले, आफूले मागेजित पैसा पाएकाले पनि पैसा नै मुख्यकारण नभएको पनि बताएका छन् । पलका अनुसार, उनलाई कथा खुबै मन परेको थियो । तर, कथा अनुसार पर्दामा उतारिन्छ भन्ने विश्वास उनमा भएन ।
सायद, पलले ‘अनुराग’मा काम गर्दा आफ्नो करिअर नै धरापमा पर्छ कि भन्ने सोचेको हुनुपर्छ । अहिले पलको ठाउँमा समुन्द्र पण्डितलाई लिएर निर्देशक सत्यराज चौलागाई छायांकनमा जाने तयारीमा छन् ।