नेपाली फिल्म क्षेत्रमा फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’बाट प्रवेश गरेका अभिनेता हुन् आमेष भण्डारी । आमेषलाई यो फिल्मले करिअर गतिलै गतिमा अगाडि लैजाने विश्वास थियो । तर, उनले सोचेजस्तो भएन ।
यो फिल्म पूर्ण असफल भएपछि आमेषको आफ्नी प्रेमिका नीता ढुंगानासँग पनि सम्बन्ध चिसियो । यसपछि, यी दुई अलग भैसकेका छन् । अब, आमेष कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’को लागि दौडधुपमा छन् । यो फिल्मले आफ्नो करिअर उठाउनेमा उनी विश्वस्त त देखिएका छन् । तर, फिल्मको लागि अहिले उनलाई नै दौडधुप गरिरहनु परेको छ ।
निर्देशक बसन्त निरौला अर्को फिल्म छायांकन लागि एक महिनादेखि यूरोपमा छन् । काठमाण्डौमा फिल्मको प्रचारमा उनी एक्लै दौडिएका छन् । ‘मेला’ निकै राम्रो फिल्म बनेको बताउने आमेष यो फिल्मले आफूलाई फाइदा पुग्नेमा विश्वस्त छन् । तर, फिल्मको तातो उनलाई बाहेक अरुलाई खासै लागेको छैन । यसैले पनि उनी केही निराश देखिएका छन् । आमेष भण्डारी, सलोन बस्नेत, अशिष्मा नकर्मी अभिनित यो फिल्मको ट्रेलरलाई पनि रुचाइएको छ ।