निर्माता रिमेश अधिकारी र निर्देशक शिवम् अधिकारीविचको झगडा अब फिल्मको निर्माणमा पनि देखिने भएको छ । सुरुवातमा शिवम्को लेखन तथा निर्देशनमा रिमेश अधिकारीको निर्माण रहने गरि फिल्म ‘नालापानी’ बनाउने घोषणा गरिएको थियो । तर, पछि रिमेश र शिवम्को झगडा परेपछि यी दुई अलग भए । यी दुइविच फेसबुकमा वाकयुद्ध पनि चल्यो ।
तर, पछि रिमेशले आफ्नै निर्देशनमा फिल्म ‘नालापानी’ बनाउने घोषणा गरे । त्यसको केही समयपछि, निर्देशक शिवम् अधिकारीले पनि आफ्नै लेखन तथा निर्देशनमा फिल्म ‘विरताको चिनो २, कथा नालापनीको’ बनाउने भएका छन् । योसँगै एउटै बिषयमा २ वटा फिल्म बन्ने पक्का भएको छ ।
श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले यो फिल्मको निर्माण गर्नेछन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्धन्द्ध रहने छ । फिल्ममा रमित ढुंगाना, गणेश गिरी, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशव सापकोटा कलाकारको रुपमा पक्का भैसकेका छन् ।
केही कलाकारको छनोट भने अडिसनबाट गर्ने र माघबाट छायांकनमा जाने निर्देशक अधिकारीले बताएका छन् । नालापानीको युद्धमा नेपाली विर सेनाहरुले देखाएको विरताको कथालाई नै फिल्ममा उठान गरिनेछ । फिल्मको छायांकन हेटौडा, सिन्धुली, काठमाण्डौमा गरिनेछ ।