बिहिबार बिदाकै दिन परेपनि फिल्मको ओपनिङ बम्पर हुँदैन । किनकी, बिहिबारबाट नयाँ फिल्म हलमा लागेको कुरामा दर्शकले खासै भेउ पाउँदैनन् । तर, बिहिबार छठको बिदाको अवसर पारेर रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले भने राम्रो ओपनिङ गरेको छ । फिल्म हेर्न विशेषगरि, काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको भीड देखिएको थियो । मल्टिप्लेक्स हलहरुमा ८० देखि ९० प्रतिशतको अकुपेन्सी देखिएको थियो ।
मल्टिप्लेक्स हलहरु क्युएफएक्स , बिग मुभिज , क्युज सिनेमा , एफक्युबका साथमा गोपिकृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा , नारायणगढ , हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो ।
वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको फिल्मको ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । फिल्मको मेकिङ, कलाकारको अभिनयको प्रशंसा धेरै भएको छ ।
दिवाकर भट्टराइले निर्देशन गरेको फिल्ममा केकी अधिकारी, रमेश उप्रेती , प्रशान्त ताम्राकार, दीपिका प्रसाइसँगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुनजंग शाही लगायतको अभिनय रहेको छ ।
संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । फिल्मले पहिलो दिन सुखद व्यापार गरेपछि निर्माता तथा अभिनेता रमेश उप्रेती खुशी देखिएका छन् । फिल्मलाई आफ्नो लगानी उठाउन ३ करोड भन्दा बढीको व्यापार गर्नुपर्ने हुन्छ ।