बक्स अफिसमा सफलता साथ प्रदर्शन भैरहेको फिल्म ‘ऐश्वर्य’को यूनिटले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई फिल्म देखाएको छ । मंगलबार बेलुकी काठमाण्डौको सिटिसी मलमा रहेको सीने द सेफ हलमा फिल्मको विशेष शो आयोजना गरिएको हो ।
फिल्म ‘ऐश्वर्य’लाई स्पेशल शोमा हेर्नका लागि अभिनेता तथा निर्देशक भुवन केसी , कलाकार बिराज भट्ट , अभिनेत्री भुवन चन्द , साम्राज्ञी राज्य लक्ष्मी शाह , रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल , द्वन्द निर्देशक राजेन्द्र खड्गी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , कलाकार संघका अध्यक्ष रामकेशर बोगटी , गायक हिमाल सागर , कलाकार विश्व बस्नेत , संविधानविद डाक्टर भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ , कमेडियन सन्दीप क्षेत्री लगायतले हेरेका छन् । फिल्म हेरेपछि फिल्मीकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले यसको मेकिङ र कलाकारको अभिनयको खुलेरै प्रशंसा गरे ।
अभिनेता भूवन केसीले फिल्मको मेकिङको उच्च प्रशंसा गरे । उनले आफूले जस्तै फिल्मले मेकिङमा ध्यान दिएको समेत बताए । फिल्म हेर्न पुगेकी अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञीले नव–अभिनेत्री दीपिकाको कामको प्रशंसा गरिन् । उनले दीपिकालाई फिल्म क्षेत्रमा स्वागत छ समेत भनिन् ।
रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार, दीपिका प्रसाई लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । फिल्मले बिहिबारदेखि सोमबारसम्म साढे २ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।