केही समयदेखि एक फिल्मको छायांकन कुरिरहेकी अभिनेत्री बर्षा सिवाकोटी अब अर्को फिल्ममा काम गर्ने तयारीमा छिन् । ३ महिनादेखि उनी फिल्म ‘रानी महल’को छायांकन पर्खिरहेकी थिइन् । तर, यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने अत्तोपत्तो नै छैन ।
यसैले, बर्षा अब नयाँ फिल्म ‘भैरे’मा व्यस्त हुने भएकी छिन् । बर्षाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन मंसिर १ गतेबाट सुरु हुँदैछ । फिल्म ‘भैरे’लाई एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । जसले यस भन्दा अगाडि फिल्म ‘ठूली’ निर्देशन गरेका थिए ।
फिल्मका लागि दयाहाङ राई र वुद्धि तामाङसँग कुरा भैरहेको छ । बर्षा आफू ‘भैरे’लाई लिएर अन्त्यन्त उत्साहित भएको बताउँछिन् । लगातार फिल्म असफल भएकाकारण पनि उनको हातमा फिल्म खासै छैन । बक्स अफिसमा उनलाई हिट हुन आवश्यक छ । ‘ठूली’ निर्देशकले के, बर्षाको करिअर जोगाउलान् त ?