शुक्रबारदेखि रिलिज भएको फिल्म ‘फाटेको जुत्ता’ले इनिसियल व्यापार राम्रो गरेको छ । हुनत, अहिले निर्मातले कमाएपनि नकमाएपनि करोड क्लबको गफ दिन कसैले छाड्दैनन् । निर्माता अर्जुन कुमारले पनि आफ्नो फिल्मले २ दिनमै करोड माथिको व्यापार गरेको दाबी गरेका छन् । अर्जुनको यो भनाईमा कती सत्यता छ त्यो केही दिनमै थाहा हुनेछ ।
फिल्मले इनिसियल व्यापार राम्रै गरेपनि यसको प्रतिक्रिया भने निकै खराब छ । नेपाल साप्ताहिकमा फिल्मको समिक्षा गर्दै गोकर्ण गौतमले यसलाई कमजोर फिल्म भनेका छन् । शुक्रबार आयोजना भएको फिल्मको प्रेस शोमा पनि फिल्म हेरेका अधिकांश पत्रकारले यसलाई निकै कमजोर फिल्म भनेका थिए । पत्रकारहरुको स्टाटसले पनि फिल्म कमजोर रहेको वुझ्न सकिन्छ ।
गीतसंगीत र प्रचारका कारण पनि शनिबार फिल्मले राम्रै व्यापार गरेको हो । तर, आजबाट फिल्मको व्यापार तल झर्ने पक्का छ । कारण, यो फिल्मलाई दर्शकले गाली गर्दै निस्किएका छन् । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।