अभिनेत्री प्रियंका कार्की नयाँ नयाँ अभिनेतासँग पनि जोडी वाधिरहेकी छिन् । उनी नयाँ नयाँ अभिनेतासँग पर्दामा देखिएर आफूलाई पनि सधै फ्रेस नै देखाउन चाहन्छिन् ।
पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बटरफ्लाई’मा अभिनेत्री कार्कीले अभिनेता आर्यन अधिकारीसँग जोडी वाधेकी छिन् । यो फिल्ममा समावेश एक रोमान्टिक गीतको भिडियो राजधानीको क्यूज हलमा कार्यक्रम गरेर सार्वजनिक गरिएको छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । ‘म गाउँदिन गीत अब’ बोलको गीतको भिडियोलाई पनि उत्कृष्ट बनाइएको छ ।
यो फिल्ममा पुष्पाञ्जली अधिकारी, रामशरन राना, भूपेन्द्र सुवेदीको लगानी छ । रमेश प्रजापति फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा अर्जुन जीसी र मन्दिल श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । यो गीतबाट आर्यन र प्रियंका आशावादी देखिएका छन् । गीत सार्वजनिक कार्यक्रममा १ घन्टा ढिलो आइपुगेकी अभिनेत्री कार्कीले निकै दुख गरेर जाडोमा यो गीत खिचेको बताइन् ।