५ बर्ष मुम्बई बसेर अभिनेता निखिल उप्रेती नेपाली फिल्ममा फर्किए । उनले आफै निर्देशक भएर फिल्म ‘भैरव’ बनाए र आफै खेलेपनि । मधेसको कथालाई केन्द्रमा राखेर निखिलले बनाएको फिल्मले बक्स अफिसमा राम्रै कमाई त गर्यो । तर, यो फिल्ममा पनि निखिलको द्धन्द्ध बाहेक दर्शकले नयाँ स्वाद पाएनन् । तर, सो समयमा निखिलले आफूले भयंकर फिल्म बनाएको बक्तव्य दिन भने छाडेनन् ।
निखिल उप्रेतीको कमब्याकपछि दर्शकलाई अपेक्षा थियो, उनीबाट केहि नयाँ खालको फिल्म बजारमा आउँछ । तर, निखिल कमब्याकपछि आफ्नो पुरानै फर्मुला द्धन्द्धलाई नै लिएर अगाडि बढे । यसपछि, रिलिज भएको ‘किङ, निर्भय, संरक्षण’ लगायतका फिल्ममा निखिलको एउटै फर्मुला देखियो ।
निखिलको समेत लगानी भनिएको फिल्म ‘रुद्र’ पनि द्धन्द्धमै रुमलियो । निखिलको अभिनय र नृत्य कहिले सुधार आएन । फिल्म ‘पिजडा ब्याक एगेन’ रिलिजको संघारमा छ । यसको लोकगीत त निखिलको नृत्यकै कारण बजारमा बिकेन, रोमान्टिक गीतमा पनि निखिलको रोमान्टिक अवतार देखिएन ।
निखिल एउटै फर्मुलाका फिल्म खेलिरहेका छन् । दर्शक, अब उनीबाट नयाँ खालको बिषयवस्तु र भूमिका खोजिरहेका छन् । तर, निखिल आफ्नो पुरानो स्टाइललाई नै निरन्तरता दिन लागिपरेका छन् । निखिलले यो फर्मुला परिवर्तन नगर्ने हो भने उनी लामो समयसम्म फिल्म क्षेत्रमा नटिक्ने विश्लेषण हुन थालेको छ ।