पहिलो फिल्म ‘ड्रिम्स’ रिलिजको समयमा अभिनेत्री सन्ध्या केसीको धेरै भूमिका काटियो । अभिनेता अनमोल केसीसँग उनी थोरै मात्र दृश्यमा देखिइन् । उनी, एउटा पूर्ण भूमिका भएको फिल्मको खोजीमा थिइन् ।
उनले, अभिनेता अनुपविक्रम शाहीसँग काम गरेको फिल्म हो, ‘कमलेको बिहे’ । तर, यो फिल्मको रिलिज कहिले हुन्छ अत्तोपत्तो छैन । उनी, अभिनित अर्को फिल्म ‘ह्याप्पी न्यू इयर’ रिलिजको तयारीमा छ । तर, यो फिल्मको मोफसल दौडमा उनी सहभागी भएकी छैनन् । फिल्म क्षेत्रमा सफलताको स्वाद चाख्न नसकेका कलाकार कुशल थापा एक्लै देशभर सांगीतिक कन्सर्ट भन्दै फिल्मको प्रचारमा छन् । तर, यस्ता कन्सर्टमा दर्शकको सहभागीता कमजोर छ ।
कन्सर्टबाट फिल्मको निर्माण टिमले मिडियालाई उपलब्ध गराएको तस्बिर हेर्दा पनि दर्शकको कमजोर सहभागीता प्रष्ट हुन्छ । सन्ध्या फिल्म क्षेत्रमा जम्ने कोशिशमा त छिन् । तर, उनलाई ‘ह्याप्पी न्यू इयर’ले त्यो खुशी देला त ? फिल्मको निर्माण टिमले प्रचारका लागि राम्रै दौडधुप गरेपनि फिल्मको हाइप भने कमजोर छ ।