फिल्म ‘राज्जा रानी’को प्रमोशनका लागि काठमाण्डौ बाहिर पुगेकी अभिनेत्री केकी अधिकारीले हालै सम्पन्न निर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता लालबाबु पण्डितसँग सेल्फी मात्र खिचिनन्, अटोग्राफ पनि लिइन् ।
लालबाबुको अटोग्राफ उनले हजारको नोटमा लिएकी छिन् । हातमा लिदा मेटिने भएकाले आफूले नोटमा अटोग्राफ लिएको केकीले बताइन् । विराटनगरमा आयोजना भएको कार्यक्रममा पण्डित प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले आफू मन्त्री भएपछि फिल्मको सम्पूर्ण लगानी फिर्ता गरिदिने समेत बताए ।
उनी, फिल्ममा समावेश भएको ‘चिपक चिपक’ बोलको गीतमा केकी र अभिनेता नाजिर हुसेनसँगै नाचेका थिए । भोर नाम संस्थाले दाइजो प्रथा विरुद्धको अभियान भन्दै यो कार्यक्रम आयोजना गरेको थियो ।
रमेश एम के पौडेलको निर्देशनमा तयार भएको फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । पौष २१ गतेबाट यो फिल्म रिलिज हुँदैछ । भोर नामक संस्थाले फिल्मलाई मैथिली भाषामा पनि रिलिज गर्दैछ ।