नेपाली फिल्म ‘रणवीर’को छायांकन फागूण ७ गतेबाट सुरु भैसकेको छ । यो फिल्मलाई द्धन्द्ध, कमेडी र रोमान्सको कथामा निर्माण गरिदैछ । फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । उनले साउथका केहि फिल्ममा समेत काम गरिसकेका छन् । यो फिल्मको कथा पनि भण्डारीले नै लेखेका हुन् ।
एक शिक्षित र जागरिलो यूवाको कथामा यो फिल्म बन्नेछ । उसैको जीवनमा आउने उतार चढावलाई फिल्ममा उतारिनेछ । फिल्मको शिर्ष भूमिकामा सुशिल सिटौलाले काम गरिरहेका छन् । यो फिल्मबाट सन् २०१२ कि ‘मिस नेपाल इन्टरनेशनल’ शुभेच्छा खड्काले फिल्म क्षेत्रमा इन्ट्री मारेकी छिन् ।
उनले भनेकी छिन्–‘मलाई सुरुमा फिल्ममा काम गर्नु हुँदैन भन्ने लागेको थियो । तर, अहिले फस्टाउँदै गएको सिनेमा क्षेत्र र यो फिल्मको कथाले आकर्षण गरेको छ । अब, यहि क्षेत्रलाई मुख्य पेशा बनाएर अगाडि बढ्नेछु ।’ यो फिल्ममा प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, टिका पहारि, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जयदिस रिमाल, बसन्ती भट्ट, शैलेश्वरी सिंहको पनि मुख्य भूमिका छ ।
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले २ करोड लगाएर यो फिल्म बनाइरहेका छन् । महेश पौडेलको छायांकन रहेको फिल्मको डडेल्धुरा, महेन्द्रनगर, धनगढी, काठमाण्डौमा छायांकन हुनेछ ।