अहिले भारतीय च्यानल स्टार प्लसबाट प्रशारण हुँदै आइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ मा कपन, काठमाडौंका सुशान्त खत्रीले एकपछि अर्को गर्दै खतरनाक डान्स स्टेप प्रस्तुत गरिरहेका छन् । अहिले निर्णायकहरु पनि उनले उपाधी जित्ने भन्दै हौसला बढाइरहेका छन् । प्रतियोगीताका मुख्य निर्णायक तथा प्रख्यात कोरियोग्राफर रेमोले समेत सुशान्तलाई ‘डान्स प्लस सिजन–२’ को दावेदारको रुपमा हेरेका छन् । २० बर्षका सुशान्तले अहिले जसरी उक्त प्रतियोगीतामा आफ्नो नृत्य प्रस्तुत गरिरहेका छन्, त्यसले दर्शकलाई मात्र होइन निर्णायकहरुलाई पनि अचम्ममा पारिरहेको छ । ‘डान्स प्लस सिजन–२’ को ‘टप ८’ मा परिसकेका सुशान्तलाई अब भने भोटको आबश्यक पर्ने भएको छ । उनले आफ्नो आधिकारीक फेसबुकमा एक स्टाटस पोष्ट गर्दै सबैसँग भोट मागेका छन् ।
यस्तो छ उनले आफ्नो फेसबुकमा लेखेको स्टाटस :
‘मेरो परिश्रमको मुल्य मैले पाइरहेको छु । म मेरो सपनाको नजिक पुग्दैछु । म टप ८ भित्र आइपुगेको हुनाले मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । तर विडम्बना मलाई अन्तर्राष्ट्रिय भोटहरु कुनै पनि प्राप्त भएको छैन । मलाई अझ धेरै माया र सहयोगको खाँचो छ । तर इण्डियाबाट पनि सोही अनुसारको भोटको अपेक्षा गर्दछु । मलाई लाग्छ मेरो भावना यहाँहरुले बुझ्नु भयो र म यो बाचा गर्छु कि म मेरो आफ्नो परिक्षामा खरो उत्रिनेछु र यहाँहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछु । त्यसैले यहाँहरुको माया र सहयोग प्रदान गरिदिनका लागि १८००८३३३३५३ मा मिसकल गर्न सक्नुहुनेछ । मलाई विश्वास छ तपाईहरुले मेरो प्रस्तुती मन पराइरहनु भएको छ । र यो आइतबार साँझ ८ बजे मेरो प्रस्तुती हेर्न नर्विसनु होला । मलाई भोट गर्नका लागि भोटिंग लाइन साँझ ८ बजेदेखी १० बजेसम्म खुल्ला रहनेछ ।’
‘डान्स प्लस सिजन–२’ को उत्कृष्ट ८ मा पुग्न सफल सुशान्तले यसअघि २०१२ मा ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा पनि सहभागी भएका थिए ।