श्रीकृष्ण जन्मअष्टमीको अवसर पार्दै मोफसलमा आजबाट चलचित्र ‘शकुन्तला’ प्रदर्शनमा आएको छ । वुधबारमात्र चलचित्र सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको ‘शकुन्तला’ हेर्न १६ बर्षभन्दा मुनीका बालबालिकाहरुले अभिभावकसाथमा जानु पर्नेछ । नारी अवतारमा राजेश हमालको खतरनाक एक्शन दृश्यका कारण चलचित्रलाई सेन्सर बोर्डका सदस्यहरुले पिजी सर्टिफिकेट दिएको निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । राजधानी भित्र भोलीबाट मात्र प्रदर्शनमा आउन लागेका यो चलचित्रमा पहिलो पटक नायक राजेश हमाल नारीको अवतारमा देखिदैछन् । साडी, चोली, पोते, टिका लगाएका राजेश हमाललाई दर्शकहरुले पहिलो पटक नारीको भेषमा देख्न पाउनेछन् । सोलो रिलिजमा उत्रिएको शकुन्तलामा राजेश हमालको अलवा किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रले नारीको संवेदनालाई मुख्य विषय बनाएको छ ।