काठमाडौं । गाउँमा हुँदा धेरै डण्डिबियो खेल्ने अभिनेता खगेन्द्र लामिछाने यसपटक भने फिल्ममा डण्डिबियो खेल्दै फर्किएका छन् । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘डमरुको डण्डिबियो’मा खगेन्द्र डण्डिबियो खेलाडीका रुपमा देखिँदैछन् ।
‘यो खेलमा अहिले त नयाँ नियम आइसकेछ । हाम्रो समयमा एउटा नियम थियो । अहिले अर्को परिस्कृत नियम आइसकेछ,’ खगेन्द्रले भने,‘नयाँ नियम पनि डण्डीबियो सिक्नेका लागि रोचक किसिमको रहेछ । फिल्मको कथा लेख्न अध्ययन सुरु गर्दा यसको नयाँ नियमबारे थाहा पाइयो ।’ सरकारले यो खेललाई राष्ट्रिय खेलबाट हटाएपछि खगेन्द्रलाई पुनः डण्डिबियो खेल्दा बाल्यकालिन अवस्थाको राम्रै स्मरण छ ।
उनले सानैमा खेलेको खेलको विषयमा फिल्म बन्ने भएपछि आफ्ना लागि नयाँ अनुभव भएको उनले बताए । ‘बधशाला’, ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ भन्दा आफूले फरक भूमिकामा अभिनय गरेको खगेन्द्रको कथन छ ।
छेतेन गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममा विनोद गुरुङ निर्माता छन् । फिल्ममा अभिनेता अनुप बराल डण्डिबियोको प्रशिक्षकको भूमिकामा छन् । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ, आशान्त शर्मा, लक्ष्मी बर्देवा, अंकित खड्कालगायतको पनि अभिनय छ ।