काठमाडौं । पत्रकार ऋषि धमलाले फिल्म ‘अनुराग’ पत्नी एलिजा गौतमका लागि उपहारस्वरूप बनाएको बताएका छन्। फिल्म रिलिजको डेट नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त भएका धमलाले सोमबार पत्रकार भेटघाटमा भने, ‘ श्रीमान् ले श्रीमतीलाई माया देखाउन गहना तथा लत्ताकपडा उपहार दिन्छन्। मैले फिल्म नै उपहार दिएँ।’
एलिजासँग विवाह नभएको भए फिल्म क्षेत्रमा प्रवेशको सम्भावना नभएको बताउँदै धमलाले आफ्नी पत्नीको नायिका बन्ने रहरलाई समर्थन गरेको बताए। फिल्म अनुरागबाटै डेब्यु गरेकी एलिजाले भने सानैदेखि फिल्म उद्योगमा आउने रहर भएको र विवाहपछि श्रीमान्को पूर्ण समर्थन पाएको बताइन्। ‘फिल्म क्षेत्रमा लाग्न आमाको समर्थन थिएन तर छोरी ज्वाइँको भएपछि अनुमति दिने नदिने कुरा उहाँहरूको हातमा रहेन’, उनले भनिन्।
पत्नीको फिल्ममा अभिनय गरेर स्थापित हुने चाहना भएकाले फिल्मका लागि लगानी गरेको धमलाले बताए। ‘सुरुमा आफ्नै लगानीको फिल्म खेल्दा अभिनय निखारिन्छ, क्षमता अभिवृद्धि हुन्छ’, धमलाले भने, ‘त्यसपछि अन्य फिल्ममा अभिनय गर्न एलिजालाई सजिलो हुन्छ।’
विवाहपछि प्रायः नायिका फिल्म क्षेत्रबाट विस्थापित हुन्छन्। त्यसमाथि पनि आमा भएपछि फिल्म उद्योगमा टिक्न नायिकालाई त्यति सजिलो छैन। तर, एलिजाले विवाहपछि नै फिल्म क्षेत्रमा प्रवेश गर्ने सोचले अघि बढेको बताइन्। ‘धेरै नायिका आमा भएपछि फिल्म क्षेत्रमा जम्न सक्नुहुन्न तर म विवाहपछि अभिनयमा आउन चाहन्थेँ’, उनले भनिन्। करिब दुई करोड लगानीमा बनेको उक्त फिल्म निर्माण गर्न सजिलो नभएको धमलाले बताए। ‘फिल्म निर्माण गर्न धेरै गाह्रो रहेछ, सबै आफैंले जिम्मेवारी लिँदा सहज हुँदैन रहेछ’, उनले भने। फिल्मको कथावस्तु राम्रो लागेर नै लगानी गरेको पनि उनले बताए।
फिल्ममा अनु र रागको प्रेमकथा रहेको एलिजाले जानकारी गराइन्। ‘म्युजिकल लभस्टोरीमा बनेको फिल्म अनुरागमा युवा प्रेमीप्रेमिकाको पीडादायी कथा छ’, उनले भनिन्। यो फिल्ममा एलिजा र नवनायक समुद्र पण्डितको जोडी छ। ‘अनुराग’मा थिलेन लामा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको पनि अभिनय छ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाकार हुन्। फिल्म ‘अनुराग’ असोज १२ गतेबाट प्रदर्शनमा आउनेछ, अन्नपूर्ण ।