काठमाडौं | फिल्म ‘बादशाह जुट’को छायाँकन सकिएको छ। सोमबार ललितपुरको श्रीकाली चौरमा फिल्ममा समावेश गीतको छायाँकन गरिएसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको हो। लोक फ्लेभरको गीतमा नायिका प्रियंका कार्की, सुशिल श्रेष्ठ र आमिर गौतमले नृत्य प्रस्तुत गरेका छन्।
जोनी सिंह राणाको निर्देशनमा तयार भएको यस फिल्मले छायाँकन सकिएसँगै रिलिज मिति पनि तय गरेको छ। निर्देशक राणाका अनुसार फिल्म अग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेबाट प्रदर्शनमा आउँदैछ।
फिल्मको छायाँकन बैशाखबाट सुरु भएपनि फिल्मको छायाँकन सक्न जम्मा ६० दिन लागेको निर्माता भोजराज श्रेष्ठ बताए। ‘बादशाह जुट’को छायाँकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको निर्माता श्रेष्ठको दाबी छ।
‘बादशाह जुट’मा सुशिल र आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको मुख्य भूमिका रहेको छ। नायिका प्रियंका कार्की भने फिल्मको विशेष भूमिका रहेको छ। ‘एच एण्ड बि फिल्मस्’ र ‘गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट’को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ।