काठमाडौं | फिल्म ‘बोबी’ हेर्ने एक भाग्यशाली दर्शकले नर्वे घुम्ने अवसर पाएका छन्। झापाका राजेश लिम्बुले बोबी हेरेर नर्वे घुम्ने अवसर पाएका हुन्। फिल्म रिलिज हुनु पूर्व निर्माण युनिटले ‘बोबी हेरौं नर्वे घुमौं’ भन्ने अभियान ल्याएको थियो।
यस अभियानमा फिल्म हेरेका एक हजार बढि दर्शकले सहभागिता जनाएका थिए। सहभागी जनाएका मध्येबाट चिट्ठा गरी एक विजेता घोषणा गरिएको हो। चलचित्र विकास वोर्डका पुर्व अध्यक्ष राजकुमार राईले झिकेको चिटमा राजेश लिम्बुको नाम परेको हो। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विजेताको नाम घोषणा गरिएको हो।
विजेता राजेशसँग नायिका कविता गुरुङले फोनमा कुरा पनि गरिन्। राजेशले आफु आजसम्म कुनै देश नघुमेको र पहिलो पटक चिट्ठा परेर विदेश घुम्न पाउँदा निकै खुसी भएको बताए। उनले बोबी टिमलाई धन्यवाद समेत दिए। राजेशले नर्वे आफ्नो श्रीमतीलाई लिएर जानेछन्।
वास्तविक प्रेमकथामा निर्माण भएको यस फिल्ममा वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। फिल्मलाई मिलन चाम्सले निर्देशक गरेका छन्।