काठमाडौं | फिल्म ‘प्रसाद’ले प्रिमियर शोबाट निकै प्रशंसा पाएको छ। बुधबार राजधानीको ‘बिग मुभिज्’मा सम्पन्न प्रिमियरमा धेरैले फिल्मको प्रशंसा गरेका छन्। फिल्मको कथाबस्तु र कलाकारको अभिनय बलियो भएको धेरैको भनाई थियो।
अन्तरजातिय बिवाहपछि राजधानी छिरेका बिवाहित जोडीको जीवन संघर्ष बोल्ने फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन्। फिल्मले सन्तान नहुदाँ परिवारमा उब्जिने खटपटलाई पनि प्रस्तुत गरेको छ। सुशिल पौडेलले लेखेको यस फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्। फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन्।
फिल्म हेर्न हलसम्म भुवन केसी, रमेश उप्रेती, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, श्रचा शर्मा, सुरक्षा पन्त, दिपेन्द्र के खनाल, कृष्ण भट्टराई, रेनशा वान्तवा राई लगायत हल पुगेका थिए। नेपाल आइडलका टप पाँच प्रतिस्पर्धी पनि फिल्मको प्रिमियरमा उपस्थित थिए।
फिल्म हेरे बाहिर आएका भुवनले फिल्मको कथाबस्तु राम्रो भएको बताए। त्यस्तै उनले निर्देशक दिनेशको पनि प्रशंसा नै गरे। दिपकराज र केदारले पनि फिल्मको कथा, प्रस्तुती र कलाकारको प्रशंसा गरेका थिए। फिल्म हेर्न हलसम्म आएका नेपाल आइडलका प्रतिस्पर्धीहरुले पनि फिल्म राम्रो भएको र फिल्म हेर्दा आफूहरु निकै भाबुक भएको बताइरहेका थिए।
फिल्मबाट पाएको प्रतिकृयाबाट निर्माण युनिट निकै खुसी देखिन्थ्यो। नायिका नम्रता श्रेष्ठले फिल्मबाट पाएको प्रतिकृयाबाट निकै उत्साहित भएको बताइन्। निर्देशक राउत पनि आफुले गरेको मेहनत र देखाउन खोजेको कुरा मन पराइदिएकोमा खुसी भएको बताइरहेका थिए।
प्रिमियरमा मुख्य कलाकार विपिन भने उपस्थित थिएनन्। उनी दुर्घटनमा परेर अहिले आराम गरिरहेका छन्।