काठमाडौं | फिल्म ‘रणवीर’ को गीतको छायांकन गरिएको छ। राजधानीको नक्साल स्थित बालमन्दिर भव्य सेट तयार गरेर ४ दिन लगाएर गीतको छायांकन गरिएको हो। पछिल्लो समय चर्चामा रहेका संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ। गीतमा राजनसंगै अन्जु पन्तले पनि स्वर दिएकी छिन।
‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरिरहेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन्।
गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन्। ‘गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखिएको छैन’ नृत्य निर्देशक रामजी भन्छन ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु।’
यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताइन्। ‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ।’ गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए। ’गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहि अनुरुप हामीले तयार गरेका हौ’ दिपेन्द्र भन्छन ’गीत हेर्दा दर्शकलाई अडियो भन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौ।’
माघ १८ मा रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ।