काठमाडौं : दीपकराज गिरीको ’आमा सरस्वती मुभिज्’ र रोहित अधिकारीको ’रोहित फिल्मस्’को संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ अनटाइटल फिल्मका लागि निर्देशकको टुंगो लागेको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक संजाल फेसबुकमा नयाँ वर्ष २०१९ को शुभकामना दिदैँ आफ्नो नयाँ फिल्मको लागि निर्देशकमा दिपेन्द्र लामा अनुबन्धित भएको उल्लेख गरेका छन् ।
संचारकर्मी तथा फिल्म समिक्षक दिपेन्द्र निर्देशित फिल्म ’घामपानी’ दर्शकले हेर्न पाइसकेका छन् । मैलिक कथामा रमाउने लामा निर्देशित ’गोपी’ भने माघ १८ गते रिलिजको तयारीमा छ ।
दीपकले फिल्मको प्रदर्शन मिति पनि तोकिसकेका छन् । उनका अनुसार फिल्म २०७६ को दशैंमा रिलिज हुने छ । फिल्मका लागि दीपकराज गिरी र केदार घिमिरे पक्का भइसकेका छन् भने अन्य कलाकार र प्राविधिकको छनोट भइरहेको छ ।
लगातार हिट फिल्म दिदैँ आइरहेका दीपकराज गिरी नाफाको ५० प्रतिशत हिस्सेदार बनेर रोहित अधिकारीसँग सहकार्य गर्न लागेका हुन् । यस फिल्ममा दीपकराज गिरीको लगानी रहने छैन ।